२०८३, कार्तिक १६ गते

आइतवार, कार्तिक १६ गते २०८३

दुई महिनामा ४ खर्बको आयात र ७६ अर्बको निर्यात

बिहिवार , आश्विन ८, २०८३

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको व्यापार घाटा ३ खर्ब भन्दा बढी रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिनामा व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ रहेको हो । गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा व्यापार घाटा २६.०२ प्रतिशतले बढेको हो ।

गत वर्ष सोही अवधिमा व्यापार घाटा २ खर्ब ५७ अर्ब रुपैयाँ रहेको थियो ।  चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको वस्तु आयात ४ खर्ब रुपैयाँ  नाघेको छ । यो अवधिमा नेपालले ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात ३१.५८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म नेपालले ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

यस अवधिमा आयातसँगै निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको छ । विभागका अनुसार चालु आवको पहिलो २ महिनामा नेपालबाट ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१।८६ प्रतिशतले बढी हो । गत वर्ष भदौ मसान्तसम्म नेपालबाट ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । तर, निर्यातको वृद्धिदर उच्च भए पनि आयातको तुलनामा निर्यात निकै कमजोर हुँदा व्यापार घाटा भने चुलिएको छ ।

तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा अत्यधिक रहेको छ । चालु आवको पहिलो दुई महिनामा आयात–निर्यात अनुपात ५।२४ प्रतिशत रहेको छ भने कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८३।९८ प्रतिशत पुगेको छ । निर्यातमा भएको वृद्धिले केही सकारात्मक संकेत देखाए पनि आयातको तीव्र विस्तारले नेपालको बाह्य व्यापार सन्तुलनमा दबाब कायमै रहेको देखाएको छ ।

चालु आवको सुरुवाती दुई महिनामै देखिएको यो अवस्थाले उपभोगमुखी आयात र कमजोर उत्पादन क्षमताको चुनौती अझै कायम रहेको संकेत गरेको छ ।