काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोट गर्न ‘प्राइमरी इलेक्सन’ अर्थात् प्राथमिक निर्वाचनको अभ्यास सुरु गर्ने भएको छ । पार्टीले सदस्यको प्रत्यक्ष मतदान, सार्वजनिक मतसर्वेक्षण र प्राथमिक निर्वाचनका आधारमा उम्मेदवार छनोट गर्ने तयारी गरेको हो ।
सभापति गगन थापा निकट स्रोतका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट उम्मेदवार छनोटसम्बन्धी मापदण्ड तय हुनेछ । कांग्रेसका करिब आठ लाख सदस्य डिजिटल प्रणालीमा आबद्ध भएकाले आवश्यकताअनुसार डिजिटल माध्यमबाट पनि सदस्यको राय लिने तयारी छ । पार्टीको विधानअनुसार सम्बन्धित तहका क्रियाशील सदस्यको मतदानबाट बढी मत प्राप्त गर्ने एक महिलासहित तीन जनाको नाम सिफारिस गरिनेछ ।
तीमध्ये अधिकारप्राप्त कार्यसमितिले एक जनालाई उम्मेदवार चयन गर्नेछ । उम्मेदवार छनोटमा योग्यता, योगदान, नैतिक आचरण र कार्यसम्पादनलाई प्राथमिकता दिइने कांग्रेसको तयारी छ । उम्मेदवार छनोट प्रक्रियामा तीन निकायले भूमिका निर्वाह गर्नेछन् । उपसभापति पुष्पा भुसाल नेतृत्वको निर्वाचन ब्युरोले निर्वाचनसम्बन्धी तथ्याङ्क, मतदाता विश्लेषण र चुनावी रणनीति तयार गर्नेछ ।
लिडरसिप एकेडेमीले उम्मेदवारको नेतृत्व क्षमता र सार्वजनिक दायित्व निर्वाह गर्न आवश्यक आधार तय गर्नेछ भने गभर्नेन्स इन्स्टिच्युटले स्थानीय तथा प्रदेश सरकारको नीति, बजेट र सुशासनसम्बन्धी योजना तथा सहयोगमा काम गर्नेछ । यद्यपि उम्मेदवार छनोटको अन्तिम मापदण्ड भने पार्टीको केन्द्रीय कार्यसमितिले तय गर्नेछ ।
कांग्रेसले यसअघि कार्यसमितिमार्फत उम्मेदवार सिफारिस गर्ने अभ्यासमा परिवर्तन गर्दै छनोट प्रक्रियालाई थप व्यवस्थित, तथ्यमा आधारित र आन्तरिक लोकतन्त्रअनुकूल बनाउने तयारी गरेको छ ।