काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालनका लागि तोकिएको निर्यातसम्बन्धी मापदण्ड पूरा गर्न नसकेपछि पञ्चकन्या एसएस एक्सपोर्टलाई निष्कासन गरिएको छ। सेज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डा. दिवाकर लुइँटेलका अनुसार उद्योगले आफ्नो कुल उत्पादनको कम्तीमा ७० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था पूरा गर्न नसकेपछि कारबाहीस्वरूप निष्कासन गरिएको हो।
उद्योगले उत्पादन गर्दै आएको मेटल ट्याङ्की तोकिएको परिमाणमा निर्यात गर्न नसकेको प्राधिकरणले जनाएको छ। सेजमा रहेका उद्योगले प्राप्त गर्ने विभिन्न सुविधा तथा सहुलियतको आधारमा निर्यातको निश्चित हिस्सा कायम गर्नुपर्ने व्यवस्था छ।
भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको छ। त्यहाँ १ हजार ४०० देखि ३ हजार ७०० वर्गमिटर क्षेत्रफलका ६९ वटा औद्योगिक प्लट रहेका छन्। विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगलाई सरकारले पूर्वाधार, कर तथा भन्सारसम्बन्धी विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ।
निर्यातमुखी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको सेजमा अहिले भैरहवा र सिमरामा औद्योगिक गतिविधि सञ्चालनमा छन्। पाँचखालमा भने पूर्वाधार विकास र लगानीकर्ताको खोजी भइरहेको छ।