२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

५७ प्रतिशतले निर्यात बढ्दा पनि व्यापार घाटा ३५ प्रतिशतले बढ्यो

बुधवार , कार्तिक १२, २०८३

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको व्यापार घाटा ३५ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा आयात ३८ प्रतिशतले बढ्दा निर्यातमा भने ५७ प्रतिशतको वृद्धि भएको छ ।

पहिलो तीन महिनामा नेपालले ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

कुल व्यापारमा आयातको हिस्सा ८५ प्रतिशत र निर्यातको हिस्सा १५ प्रतिशत रहेको छ । नेपालबाट मुख्य रूपमा भटमास तथा पामतेल, गलैंचा, अलैंची, धागो, तयारी पोशाक र चियालगायतका वस्तु निर्यात हुने गरेका छन् । पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल, मेसिनरी, सवारीसाधन र विद्युतीय सामग्री प्रमुख आयातित वस्तु हुन् ।

निर्यात बढे पनि आयातको तुलनामा निर्यातको हिस्सा कम हुँदा नेपालको व्यापार घाटा उच्च रहेको छ । चालु आवको पहिलो त्रैमासमा कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड ९ लाख पुगेको छ ।