२०८३, कार्तिक १६ गते

आइतवार, कार्तिक १६ गते २०८३

आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : राष्ट्रपति पौडेल

बिहिवार , आश्विन २२, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्रै सम्भव नहुने बताउँदै राज्य, निजी क्षेत्र र समग्र समाजको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभएको हो।

उहाँले अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्नेमा उहाँको जोड थियो। सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले त्यसबाट निजी क्षेत्रको लगानी र उत्पादन विस्तारका लागि अनुकूल वातावरण बन्ने उल्लेख गर्नुभयो।

महासंघमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र देशको आर्थिक प्रगतिसँग जोडिएको बताउँदै उहाँले निजी क्षेत्रले रोजगारी सिर्जना, उत्पादन वृद्धि र नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो।

अबको आर्थिक प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउनेतर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ।