काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत उनले पत्रकारहरू रिहा भएको जानकारी दिएका हुन् ।
मन्त्री तिमिल्सिनाले लेखेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’ यसअघि प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो ।
नेपालप्रेसका विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी टोली कार्यालयमै पुगेको थियो ।
दुई घण्टाभन्दा बढी समय कार्यालयमा बसेको टोलीले साँझ पत्रकार मैनाली र सम्पादक खगेन्द्र पन्तलाई भोलि साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिँदै फर्किएको छ ।