काठमाडौं । चीनमा भइरहेको दोस्रो विश्व ह्युमनोइड रोबोट खेलले रोबोटिक्स क्षेत्रमा चीनको तीव्र प्रगति देखाएको छ। बेइजिङमा भइरहेको प्रतियोगितामा विश्वभरका ६६६ टोलीका दुई हजारभन्दा बढी रोबोटले विभिन्न ५१ विधामा प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताअघि चिनियाँ स्मार्टफोन कम्पनी अनरले बनाएको ‘लाइटनिङ’ ह्युमनोइड रोबोटले १०० मिटर दूरी ९.३२ सेकेन्डमा पूरा गरेर चर्चा कमाएको थियो। यो उसैन बोल्टको ९.५८ सेकेन्डको विश्व कीर्तिमानभन्दा पनि कम समय हो।
चीनले रोबोटलाई खेलकुदमा मात्र होइन, कारखाना, अस्पताल, होटल, ढुवानी तथा अन्य औद्योगिक क्षेत्रमा समेत प्रयोग विस्तार गरिरहेको छ। चीनको लक्ष्य ह्युमनोइड रोबोटिक्सलाई भविष्यको प्रमुख रणनीतिक र औद्योगिक क्षेत्रका रूपमा विकास गर्नु हो।
चीनको रोबोटिक्स उद्योगमा सरकारी लगानी, बलियो आपूर्ति प्रणाली र प्रविधि विकासले तीव्र गति दिएको छ। मोटर, सेन्सरदेखि रोबोटका अन्य आवश्यक उपकरणसम्म चीनभित्रै उत्पादन हुन थालेपछि यो क्षेत्र विश्व बजारमा समेत चीनको प्रभावशाली उपस्थितिका रूपमा अघि बढिरहेको छ।