२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

आईजीपी हटाउने समाचार निराधार प्रचार मात्रै हो : प्रहरीको निष्कर्ष

बिहिवार , कार्तिक १३, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध सार्वजनिक भएका विवरणबारे प्रहरीको उच्चस्तरीय बैठकमा छलफल भएको छ ।

पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को आकस्मिक बैठकले आईजीपीलाई हटाउने तयारी भइरहेको भन्ने समाचारलाई ‘अनर्गल प्रचार’ का रूपमा लिएको बैठकमा सहभागी एक उच्च प्रहरी अधिकृतले बताएका छन् । आईजीपी कार्कीको आह्वानमा करिब चार घण्टा चलेको बैठकमा सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी), आठ जना अतिरिक्त महानिरीक्षक (एआईजी) र आईजीपी सहभागी थिए ।

बैठकमा प्रहरी संगठनका पछिल्ला घटनाक्रम, अनुसन्धानका गोप्य विवरण बाहिरिएको विषय र नेतृत्वविरुद्ध सार्वजनिक भएका समाचारबारे छलफल भएको थियो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध रहेको भनिएकी ईनम सापकोटासम्बन्धी अनुसन्धानका विवरण बाहिरिएको विषयमा समेत छलफल भएको जनाइएको छ ।

सूचना चुहावटबारे छानबिन गरी संलग्नमाथि कारबाही गर्ने विषय उठाइएको प्रहरी अधिकारीहरूले बताएका छन् । बैठकमा आईजीपी कार्कीले आफूविरुद्ध सार्वजनिक भएका विवरणमा सत्यता नरहेको दाबी गर्दै भ्रममा नपर्न आग्रह गरेका थिए ।

प्रहरी नेतृत्वले संगठन प्रमुखविरुद्ध फैलिएको भनिएको प्रचारको सामूहिक प्रतिवाद गर्ने निष्कर्ष निकालेको बताइएको छ । यद्यपि, आईजीपीलाई हटाउने विषयमा सरकारले औपचारिक निर्णय गरेको पुष्टि भएको छैन ।