२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शरद् ऋतुमा ६३७ आरोहीले लिए हिमाल चढ्ने अनुमति

मंगलवार , आश्विन १३, २०८३

काठमाडाैं । नेपालमा यस वर्षको शरद् ऋतुमा १८ वटा हिमाल आरोहणका लागि ६८ टोलीका ६३७ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार अनुमति लिनेमा ४७४ पुरुष र १६३ महिला छन्। आरोहण अनुमति शुल्कबापत विभागले २३ करोड ८५ लाख १७ हजार ७९७ रुपैयाँ रोयल्टी उठाएको छ।

सबैभन्दा धेरै आकर्षण मनास्लुमा देखिएको छ। ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। यसबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। धौलागिरि–१ का लागि ४ टोलीका ३४, पुथा हिउँचुलीका लागि २ टोलीका २० र डाङ्गा हिउँचुलीका लागि २ टोलीका १६ जनाले अनुमति लिएका छन्। बरुणत्सेका लागि १० जनाले अनुमति लिएका छन्।

यस्तै, मकालु, गङ्गापूर्णा पश्चिम, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक, पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि पनि अनुमति जारी भएको विभागले जनाएको छ।

कुल आम्दानी १५ लाख ६८ हजार ७३४ अमेरिकी डलर अर्थात् २३ करोड ८५ लाख १७ हजार ७९७ रुपैयाँ रहेको विभागले जनाएको छ।