काठमाडौं । वर्षाका कारण केही दिनसम्म शीतल महसुस गरेकाहरुले अब फेरी गर्मीको सामना गर्नुपर्ने भएको छ । मौसमविदहरुका अनुसार अबका केही दिन पानी पर्न कम हुने भएकाले गर्मी बढ्ने छ ।
मनसुन भित्रिन अझै केही दिन लाग्ने र पश्चिमी वायुको प्रभाव पनि कमजोर देखिएकाले आउँदो एक हप्ता गर्मी बढ्दै जाने छ । गर्मीको बढी प्रभाव तराई मधेशका जिल्लाहरुमा देखिने छ । अघिल्ला दिनहरुमा तीन दिन ठाउँठाउँमा वर्षा भएको थियो । वर्षाका कारण तापक्रम घटेपछि शीतल महसुस भएको थियो । तर अब तापक्रम विस्तारै उकालो लाग्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १९ गते मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईका जिल्लाहरुमा तातो दिन हुने सम्भावना छ । विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि चढेको थिएन । तर आजबाटै वर्षा कम भएकाले फेरि तापक्रम उकालो लाग्ने सम्भावना रहेको र तराईका केही क्षेत्रमा तातो लहर बढ्ने अनुमान गरिएको छ ।
मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले सोमबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।