२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भोटेकोसी नदीमा बनेको ताल रित्तियो, के छ अवस्था ?

आइतवार , भाद्र २१, २०८३

काठमाडौं । विपद् निम्त्याउने गरी भदौ १० गते बाढी आएको भोटेकोसी नदीको सिरानमा बनेको ताल रित्तिएको छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रको केरुङ बन्दरगाहको माथिल्लो क्षेत्रमा बनेको ताल (ब्यारियर लेक) को पानी निकास भएर रित्तिएको चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले उल्लेख गरेको छ । सिन्ह्वाले तिब्बत क्षेत्रको आपतकालीन व्यवस्थापन विभागलाई उदृत गर्दै ताल क्षेत्र खाली भएको तस्बिर पनि प्रकाशन गरेको छ ।

तालको पानी निकास भएसँगै नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको बताइएको छ । यससँगै तालका कारण उत्पन्न हुनसक्ने जोखिम पनि हटेको छ । पहिरोका कारण नदीको बहाव अवरुद्ध भएपछि बनेको तालमा २० लाख घनमिटरभन्दा बढी पानी जमेको बताइएको थियो ।

ताल फुट्न सक्ने जोखिमलाई लिएर चिनियाँ अधिकारीहरूले निरन्तर पानीको सतह, नदीको बहाव र आसपासको भूभागको निगरानी गरिरहेका थिए । हाल नदीको बहाव सामान्य अवस्थामा फर्किएपछि तत्कालका लागि जोखिम नियन्त्रणमा आएको चिनियाँ अधिकारीहरूले बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।