२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

बिहिवार , कार्तिक १३, २०८३

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न सरकारी निकायहरूलाई सुरक्षा एड्भाइजरी जारी गरेको छ ।

केन्द्रले नोड डट जेएस रनटाइममा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको जनाउँदै सम्बन्धित प्रणालीमा प्रयोग भइरहेको भर्सन जाँच गरी अद्यावधिक गर्न आग्रह गरेको हो । केन्द्रले सङ्घीय मन्त्रालय, आयोग, सचिवालय तथा प्रदेश र स्थानीय तहका निकायलाई वेबसाइटमा वैध एसएसएल/टिएलएस प्रमाणपत्र अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ ।

साथै, वेबसाइटलाई एचटीटीपीएसमार्फत मात्र सञ्चालन गर्न, प्रमाणपत्रको म्याद नियमित जाँच तथा नवीकरण गर्न र टिएलएस १.२ वा १.३ प्रोटोकल प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रका अनुसार सुरक्षा कमजोरीको दुरुपयोग भएमा अनधिकृत पहुँच, सेवा अवरुद्ध तथा प्रणालीमा अनधिकृत नियन्त्रणको जोखिम रहन्छ ।

सरकारी वेबसाइटको सुरक्षा सुदृढ गर्दै नागरिकका व्यक्तिगत विवरण र संवेदनशील सूचना सुरक्षित राख्न आवश्यक सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्रले जोड दिएको छ ।