काठमाडौं । मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि वर्षाको गतिविधि बढेको छ । आज पनि पहाडी भेगका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
पश्चिमी वायु, स्थानीय वायु, पूर्वी नेपालमा कायम मनसुनी प्रणालीका साथै बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढेको मौसमविद डा। विनोद पोखरेलले बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका अनुसार हिजोको तुलनामा आज र भोलि वर्षा हुने क्षेत्र र मात्रा धेरै हुने सम्भावना छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले एक–दुई दिन वर्षाका गतिविधि जारी रहने जनाएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहानपख वर्षा रोकिए पनि दिउँसोदेखि वर्षाको गतिविधि बढ्ने छ । आज हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज नै पश्चिमी भूभागमा एक–दुई स्थानमा खण्डित रुपमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आगामी तीन दिनसम्मै वर्षा जारी रहने सम्भावना छ । खासगरी सुदूरपश्चिम, कर्णाली तथा तराईको मधेश र कोशी प्रदेशका केही स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ । केही स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान छ । काठमाडौं उपत्यकामा आज दिउँसो मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेको बुलेटिनमा आज खासगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा वर्षा–हिमपातको सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि आज मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
गत १२ घण्टाको अवधिमा कैलाली, बर्दिया र दाङमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा कैलालीको बलियामा १००.४ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी बर्दियाको दौलतपुरमा ६८.२ र दाङको जलकुण्डीमा ७०.६ मिलिमिटर वर्षा मापन भएको छ । खासगरी कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।
हिजो दिउँसो र राति काठमाडौं उपत्यकामा पनि वर्षा भएको थियो । काठमाडौंको बबरमहलमा १२ घण्टाको अवधिमा ३० मिलिमिटर वर्षा मापन भएको थियो ।