काठमाडौं । प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूज डटकमका अध्यक्ष एवं प्रधानसम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको छ ।
सुवेदीलाई मीनभवनस्थित नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ गरिएको हो । उनलाई पक्राउ पुर्जी नदिइएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेलले जानकारी दिएका छन् । त्यस्तै, पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका चार–पाँच जना प्रहरी पुगेर पत्रकार नवराज मैनालीको खोजी गरेका छन् ।
प्रहरीले माथिको आदेश भन्दै मैनालीलाई उपलब्ध गराउन आग्रह गरे पनि पक्राउ पुर्जी नल्याएको समाचार सम्पादक खगेन्द्र पन्तले बताएका छन् । यसैगरी, साइबर ब्यूरोले नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई पनि बोलाएको छ ।
उनीहरू ब्यूरोमा उपस्थित भएको पौडेलले जानकारी दिएका छन् । दियोपोस्ट डटकमको कार्यालयमा समेत प्रहरी पुगेर प्रधानसम्पादक र सम्पादकको खोजी गरिरहेको बताइएको छ।
महासंघद्वारा आपत्ति, तत्काल रिहाइको माग
यसैबीच, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।
शाखाका सचिव रमेश कुमार बोहोराले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारकै आधारमा पत्रकारलाई साइबर अपराधसम्बन्धी मुद्दामा तान्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् ।
महासंघले समाचारप्रति कुनै असहमति वा गुनासो भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्नुपर्ने उल्लेख गर्दै पत्रकारलाई पक्राउ गरेर त्रसित बनाउने कार्य अस्वीकार्य रहेको जनाएको छ ।
महासंघले पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गर्दै सञ्चारमाध्यम र पत्रकारमाथि हुने अनुचित हस्तक्षेपविरुद्ध उभिने प्रतिबद्धता जनाएको छ ।