२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

बाढीपीडितको पुनःस्थापनाका लागि नेपाललाई ठूलो आर्थिक सहयोग

शुक्रवार , कार्तिक १४, २०८३

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपालले २१.६ मिलियन अमेरिकी डलर अर्थात् करिब पौने ३ अर्ब रुपैयाँ अनुदान पाउने भएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गत रहेको हानि–नोक्सानी सम्बोधन कोषले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी गत भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिलाई सम्बोधन गर्न नेपालले गरेको आग्रहअनुसार अनुदान दिने निर्णय भएको जानकारी दिएको छ ।

सरकारले उक्त बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि विशेष आर्थिक सहयोग माग गरेको थियो । सोही प्रयोजनका लागि नेपालले ३१ अगस्ट २०२६ मा कोषको बोर्डसमक्ष औपचारिक आग्रह गरेको थियो । नेपालको प्रस्तावमाथि १२ अक्टोबर २०२६ मा बसेको बोर्डको विशेष बैठकले अनुदान उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्तालियामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप-३१ मा नेपालले उच्चस्तरीय सहभागिता जनाउने भएको छ। सम्मेलनका लागि आवश्यक तयारी तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।

कोप–३१ का क्रममा नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यका लागि ‘फ्रेमवर्क एग्रिमेन्ट फर को–अप्रेसन अन क्लाइमेट चेन्ज’ मा हस्ताक्षर गर्ने तयारीसमेत भइरहेको छ ।

त्यस्तै, सम्मेलनका विभिन्न साइडलाइन छलफलमा नेपालले अन्य पर्वतीय मुलुकहरूसँग सहकार्य गर्दै जलवायु परिवर्तनले हिमाली क्षेत्र र पर्वतीय समुदायमा पार्ने असरका विषय उठाउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।