काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले चार वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीले आयोजनाका क्याम्प, पुल, पहुँच सडक तथा निर्माण उपकरण र सामग्रीमा क्षति गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प र केही उपकरण बाढीले बगाएको छ। त्यस्तै, २४.५ मेगावाटको दोभान खोला जलविद्युत आयोजनाका केही घरमा क्षति पुगेको छ भने बेलिब्रिज बगाएको छ।
३०.५९ मेगावाटको यारु खोला जलविद्युत आयोजनाको बेलिब्रिजमा क्षति पुग्नुका साथै निर्माण सामग्री र उपकरण बगेका छन्। यसैगरी, १६ मेगावाटको माछा खोला जलविद्युत आयोजनाको पहुँच सडक र आयोजना स्थल जाने पुलमा क्षति पुगेको इप्पानले जनाएको छ।