काठमाडौँ। बडादसैँसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्ये कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। बिहानैदेखि विभिन्न देवी मन्दिरमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको उपस्थिति देखिएको छ।
वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा गरिन्छ। नवदुर्गाको छैटौँ स्वरूपका रूपमा पूजिने कात्यायनी देवीलाई शक्ति र पराक्रमकी प्रतीकका रूपमा लिने धार्मिक मान्यता छ। पौराणिक कथाअनुसार कात्यायन ऋषिको आश्रममा कन्याका रूपमा अवतार लिनुभएकी देवीलाई ऋषिले पुत्रीका रूपमा स्वीकार गरेपछि उहाँको नाम कात्यायनी रहेको विश्वास गरिन्छ।
नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी जौँको जमरा राखिएसँगै सुरु भएको दुर्गा पूजा अहिले छैटौँ दिनमा पुगेको छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा गरिएको थियो। आज कात्यायनी देवीको पूजा गरिँदैछ भने आगामी दिनमा कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको आराधना गरिनेछ।
नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, रक्तकाली, बगलामुखीलगायत शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। उपत्यकाबाहिरका मनकामना, पलाञ्चोक भगवती, पाथीभरा, गढीमाई, छिन्नमस्ता, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही र उग्रतारालगायत मन्दिरमा पनि दर्शनार्थी पुगिरहेका छन्।
नवरात्रभर दसैँघर तथा पूजा कोठामा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवी भागवत र देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको विधिपूर्वक पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
नवरात्रको धार्मिक विधि नवमीसम्म चल्ने भए पनि दसैँको टीका र जमरा लगाउने परम्परा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म कायम रहन्छ। कतिपय समुदायमा भने कुल परम्पराअनुसार विजयादशमीका दिनमात्र टीका लगाउने चलन छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय व्यवस्थाअनुसार कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिन्छ।
नवरात्रसँगै धार्मिक आस्था, पारिवारिक भेटघाट र दसैँको उल्लास थपिँदै गएको छ। शक्तिपीठमा हुने पूजा आराधना र दर्शनार्थीको उपस्थितिले दसैँको सांस्कृतिक तथा धार्मिक महत्त्वलाई झल्काइरहेको छ।