काठमाडौं । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ बैतडीको डिलाशैनी गाउँपालिकास्थित डिलाशैनी भगवती मन्दिरमा बडादशैंको अष्टमीको पहिलो दिन (आज) ठूलो संख्यामा पशुबलि चढाइएको छ ।
यस वर्ष पञ्चाङ्ग तिथिको फेरबदलका कारण अष्टमी दुई दिन परेको र आज पहिलो दिनमै मन्दिरमा एक सयभन्दा बढी राँगा र बोकाको बलि दिइएको स्थानएयहरुले जनाएका छन् । स्थानीय परम्परा र जनविश्वास अनुसार वर्षभरिको मनोकांक्षा पूरा भएपछि वा भाकल अनुसार भगवतीलाई खुसी पार्न यस क्षेत्रमा महाअष्टमीको अवसरमा पशुबलि दिने परम्परा रहिआएको छ ।
आज पहिलो दिनमै बैतडी आसपासका विभिन्न क्षेत्रहरूबाट आएका हजारौं श्रद्धालु भक्तजनहरूको मन्दिर परिसरमा बाक्लो भिड लागेको थियो ।