२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

अर्को सातादेखि नेपालमा वर्षाको सम्भावना

बिहिवार , कार्तिक ६, २०८३

काठमाडौं । अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुने संकेत देखिएको मौसमविदले बताएका छन् । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले वर्षाको सम्भावना देखिएको हो ।

मौसमविद्का अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि करिब एक साताभन्दा लामो समयसम्म वर्षा हुन सक्ने सम्भावना देखाएका छन् । चारवटा मौसम पूर्वानुमान मोडेलको औसत पूर्वानुमान चित्र फेसबुकमा सार्वजनिक गर्दै उनले केही स्थानमा भारी वर्षासमेत हुन सक्ने संकेत देखिएको बताएका छन् ।

उनका अनुसार विभिन्न मोडेलले वर्षाको स्थान र मात्राबारे फरक–फरक अनुमान गरेका छन् । त्यसैले अहिले नै कुन ठाउँमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन छ । आगामी दिनमा मौसम पूर्वानुमानमा परिवर्तन आउन सक्ने भएकाले पछिल्ला अपडेटलाई ध्यान दिनुपर्ने बताएका छन् ।

हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुँदा जोखिम बढ्न सक्ने भएकाले यात्रा तथा पदयात्रामा निस्कनेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । यात्रा वा ट्रेकिङको तयारीमा रहेकाहरूले नियमित मौसम पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा आफ्नो योजना बनाउन सुझाव दिइएको छ ।

मौसम पूर्वानुमान अझै परिवर्तन हुन सक्ने भएकाले सम्भावित वर्षाको प्रभावबाट जोगिन किसान, यात्रु तथा सम्बन्धित क्षेत्रका नागरिकले पछिल्ला मौसम अपडेटमा ध्यान दिनु आवश्यक छ ।