२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

आईपीओ निष्कासनको प्रतीक्षामा ११७ कम्पनी

बिहिवार , कार्तिक ६, २०८३

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति पर्खिरहेका कम्पनीको संख्या ११७ पुगेको छ । कात्तिक ५ गतेसम्मको विवरणअनुसार ती कम्पनीले सर्वसाधारणलाई ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर बिक्री गरी ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँभन्दा बढी पूँजी संकलन गर्ने योजना अघि सारेका छन् ।

आईपीओ निष्कासनको स्वीकृति पर्खने कम्पनीमध्ये संख्यात्मक रूपमा जलविद्युत् क्षेत्र अगाडि देखिएको छ भने प्रस्तावित रकमका हिसाबले उत्पादन तथा प्रशोधन क्षेत्रको हिस्सा सबैभन्दा ठूलो छ । यी दुई क्षेत्रका कम्पनीले मात्रै करिब ५४ अर्ब ८० करोड रुपैयाँ जुटाउन अनुमति मागेका छन् । यो कुल प्रस्तावित रकमको झन्डै ७७ प्रतिशत हो । उत्पादन तथा प्रशोधन क्षेत्रका ३२ कम्पनीले १७ करोड ४१ लाख ९१ हजार ३०३ कित्ता सेयर जारी गरेर ३५ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी संकलन गर्ने प्रस्ताव गरेका छन् ।

यस क्षेत्रमा प्रस्तावित रकम उच्च हुनुको मुख्य कारण कम्पनीहरूले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न खोज्नु हो । यसले सेयरको संख्या मात्र नभई प्रतिकित्ता मूल्यले पनि पूँजी संकलनको आकार निर्धारण गर्ने देखाउँछ । यता जलविद्युत् क्षेत्रका ३९ कम्पनी आईपीओ स्वीकृतिको प्रतीक्षामा छन् । उनीहरूले १८ करोड ७३ लाख ५७ हजार ६६२ कित्ता सेयर बिक्रीबाट करिब १९ अर्ब ९ करोड रुपैयाँ जुटाउने प्रस्ताव गरेका छन् । रकमका आधारमा यस क्षेत्रको हिस्सा कुल प्रस्तावित निष्कासनको करिब २६.७३ प्रतिशत छ ।

सेयर कित्ताका आधारमा भने यसको हिस्सा करिब ३६.७ प्रतिशत रहेको छ । उत्पादन तथा प्रशोधन र जलविद्युत् क्षेत्रका कम्पनीले प्रस्ताव गरेका सेयरको संख्या जोड्दा ३६ करोड १५ लाख ४८ हजार ९६५ कित्ता पुग्छ । यसअनुसार बोर्डको स्वीकृति पर्खिरहेका कुल सेयरमध्ये करिब ७१ प्रतिशत कित्ता यी दुई क्षेत्रका कम्पनीबाट निष्कासन गर्ने प्रस्ताव गरिएको छ । होटल तथा पर्यटन क्षेत्रमा पनि सार्वजनिक निष्कासनमार्फत पूँजी जुटाउने तयारी उल्लेख्य छ ।

यस क्षेत्रका १९ कम्पनीले ५ करोड ९७ लाख १३ हजार ९३० कित्ता सेयर निष्कासन गरी करिब ६ अर्ब ६० करोड रुपैयाँ संकलन गर्न अनुमति मागेका छन् ।  लगानी समूहका ९ कम्पनीले ३ करोड २० लाख ५३ हजार ६६२ कित्ता सेयर जारी गरेर करिब ३ अर्ब २० करोड रुपैयाँ जुटाउने प्रस्ताव गरेका छन् । लघुबीमा क्षेत्रका तीन कम्पनीले ६७ लाख ५० हजार कित्ता सेयरमार्फत ६७ करोड ५० लाख रुपैयाँ संकलन गर्ने योजना पेस गरेका छन् ।

धितोपत्र बोर्डको वर्गीकरणमा ‘अन्य’ समूहमा परेका १५ कम्पनीले पनि ५ करोड ९ लाख १५ हजार ३८९ कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव गरेका छन् । ती कम्पनीले यसबाट करिब ६ अर्ब १३ करोड ९४ लाख रुपैयाँ उठाउने लक्ष्य राखेका छन् ।