२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब माथि

मंगलवार , कार्तिक ११, २०८३

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब १७ अर्ब ४७ करोड रुपैयाँ पुगेको हो । 

चालु आर्थिक वर्ष २०८३÷८४ को भदौ मसान्तसम्मको अवधिमा उक्त कर्जा लगानी भएको हो । केन्द्रीय बैंकका अनुसार थोक तथा खुद्रा व्यापार, उपभोग, उत्पादन, विद्युत् र निर्माण क्षेत्रमा कर्जा बढ्दा कृषि तथा लघुवित्त क्षेत्रमा घटेको छ । बैंकहरूको कुल कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा उपभोग्य क्षेत्रमा गएको छ । भदौसम्ममा यस क्षेत्रमा १३ खर्ब ६० अर्ब ६० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

व्यक्तिगत तथा घरायसी आवश्यकताका लागि प्रवाह हुने उपभोग्य कर्जा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३ अर्ब २४ करोड ६५ लाख रुपैयाँले बढेको छ । उपभोग्य कर्जाभित्र सुनचाँदी धितो राखेर लिइने कर्जामा एक खर्ब ३२ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । क्रेडिट कार्ड प्रयोग गरी लिइने कर्जा ५३ करोड ४४ लाख रुपैयाँले वृद्धि भएर आठ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

यसको विपरीत मुद्दती रसिद धितो राखेर प्रवाह गरिने कर्जा १८ अर्ब २० करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । ग्यारेन्टी बन्ड धितो कर्जामा दुई महिनामा एक अर्ब ११ करोड १८ लाख रुपैयाँबाट बढेर एक खर्ब ३७ अर्ब ६१ करोड ३७ लाख रुपैयाँ पुगेको छ । व्यक्तिगत सवारीसाधन खरिद, शिक्षा, आवासीय घर तथा अन्य व्यक्तिगत आवश्यकताका लागि प्रवाह हुने कर्जामा १० खर्ब ६३ अर्ब ८४ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो ठूलो हिस्सा थोक तथा खुद्रा व्यापार क्षेत्रमा १० खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । व्यापार क्षेत्रभित्र अटोमोबाइल डिलर तथा फ्रेन्चाइज व्यवसायमा प्रवाहित कर्जामा ११ अर्ब ५५ करोड ४० लाख रुपैयाँ, आयात व्यापारका लागि प्रवाह हुने कर्जा १० अर्ब तीन करोड ३३ लाख रुपैयाँ रहेको छ । कृषि क्षेत्रमा ९ अर्ब २१ करोड २६ लाख रुपैयाँ कर्जा घटेको छ ।

भदौ मसान्तसम्म कृषि क्षेत्रमा कुल चार खर्ब एक अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । कृषि क्षेत्रभित्र बालीनाली तथा कृषि सेवाका लागि प्रवाह गरिएको कर्जा तीन अर्ब १३ करोड ४२ लाख रुपैयाँ रहेको छ । उत्पादन क्षेत्रमा कर्जा लगानी १८ अर्ब सात करोड ६६ लाख रुपैयाँले बढेको छ । यससँगै भदौ मसान्तसम्म उत्पादन क्षेत्रमा प्रवाहित कुल कर्जा नौ खर्ब ४८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

खाद्यान्न उत्पादनमा कर्जा दुई महिनामा आठ अर्ब ९७ करोड १० लाख रुपैयाँ रहेको छ । विद्युत् क्षेत्रमा कर्जा लगानी दुई महिनामा नौ अर्ब ४२ करोड २५ लाख रुपैयाँले बढेको छ । यससँगै भदौसम्म विद्युत् क्षेत्रमा प्रवाहित कर्जा पाँच खर्ब १४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । निर्माण क्षेत्रमा १० अर्ब २१ करोड ३० लाख रुपैयाँ रहेको छ । भदौ मसान्तसम्म कुल दुई खर्ब ८४ अर्ब ५३ करोड रुपैयाँ कर्जा पुगेको छ ।

त्यस्तै सेवा क्षेत्रमा कर्जा १३ अर्ब ६४ करोड आठ लाख रुपैयाँ रहेको छ । भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कुल पाँच खर्ब २३ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । लघुवित्त क्षेत्रमा प्रवाहित कर्जा २७ अर्ब ७३ करोड ३ लाख रुपैयाँले घटेको छ । भदौ मसान्तसम्म लघुवित्त क्षेत्रमा प्रवाहित कुल कर्जा एक खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ ।

घरजग्गा क्षेत्रमा कर्जा लगानी दुई अर्ब ७९ करोड १९ लाख रुपैयाँ रहेको छ । भदौ मसान्तसम्ममा कुल एक खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।