काठमाडौं । स्ट्रेट अफ होर्मुज र बाब अल–मन्देव जलडमरूमध्यमा अवरोधका बाबजुद साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले वर्षको दोस्रो त्रैमासमा ४४ प्रतिशत नाफा कमाएको छ ।
प्रशोधित तथा रासायनिक उत्पादनका साथै प्रशोधन नगरिएको तेल (क्रुड ओयल) को मूल्यमा भएको वृद्धिका कारण कम्पनीले अप्रिलदेखि जुनसम्मको अवधिमा ३२.६९ अर्ब अमेरिकी डलर खुद नाफा कमाएको छ । तथापि, गत हप्ता सार्वजनिक आधिकारिक तथ्यांक अनुसार साउदी अरबमा तेल सम्बन्धी गतिविधि गत वर्षको सोही अवधिको तुलनामा २४.७ प्रतिशतले घटेको छ । जसका कारण दोस्रो त्रैमासमा साउदीको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.८ प्रतिशतले खुम्चिएको छ ।
इरानद्वारा होर्मुज जलडमरूमध्य बन्द गरिनु र खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरूमा भएका आक्रमणका कारण सो क्षेत्रमा तेल उत्पादन प्रभावित भइरहेको समयमा यो नतिजा आएको हो । यता, यमनका हुथी विद्रोहीहरूले बाब अल–मन्देव जलडमरूमध्यमा साउदी अरबविरुद्ध घोषणा गरेको नाकाबन्दीका कारण रातो सागरतर्फ जाने साउदीको ‘इस्ट–वेस्ट’ पाइपलाइन प्रयोग गर्ने प्रयासमा समेत बाधा पुगेको छ ।