२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आधा दर्जन बढी बीमा कम्पनी सीईओ विहीन अवस्थामा

बिहिवार , आश्विन १५, २०८३

काठमाडौं । आधा दर्जन बढी बीमा कम्पनी अहिले सीईओ विहीन अवस्थामा रहेका छन् । कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिक्त भएको मितिले ३ महिना भित्र नियुक्त गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।

बीमकको संस्थागत सुशासन निर्देशिका, २०८० को निर्देशन २५ को उपनिर्देशन ११ मा बीमा कम्पनीको प्रमुख कार्यकारी पद ३ महिनाभन्दा बढी रिक्त हुन नहुने उल्लेख गरिएको छ । प्राधिकरणको निर्देशिकामा मात्रै होइन श्रम ऐन, २०७४ मा पनि कुनै संगठित संस्था सीईओ आफैले जाहेरी वा उजरी दिई थुनामा रहेको अवस्थामा बाहेक निलम्बन अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो श्रमिकको सेवा रोजगारदाताले अन्त्य गर्न सक्ने व्यवस्था रहेको छ ।

अहिले दुई वटा पुनर्बीमा कम्पनी सहित ८ वटाको सीईओ पद रिक्त रहेको छ । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कानुनी अभियोग खेपिरहेका छन् । जसल गर्दा उनीहरु अहिले निलम्बनको अवस्थामा छन् । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्स पनि प्रमुख कार्यकारी विहीन अवस्थामा रहेको छ । त्यस्तै सीईओ विहीन रहेका कम्पनीहरुमा लघु बीमा कम्पनीहरु क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो, लिबर्टी माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स हुन् ।

हिमालयन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि कम्पनीले विज्ञापन समेत प्रकाशन गरिसकेको अवस्थामा सर्वोच्च अदालतको आदेशले प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकृया स्थगित भएको छ । अहिले अभियुक्त बनाइएका प्रमुख कार्यकारी अधिकृतहरुविरुद्ध एकभन्दा बढी मुद्दा अदालतमा विचाराधीन छन् ।

प्रारम्भिक सुनुवाइका क्रममा कुनै एक मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश गरे पनि अन्य मुद्दामा पुर्पक्षाका लागि थुनामै राखिएका छन् । यी कम्पनीका सीईओहरु गत जेठ २८ गतेदेखि नै निलम्बनमा परेका छन् ।