काठमाडौं । बंगालको खाडीबाट विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा बिहीबारदेखि उल्लेखनीय रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चक्रवातको प्रभावले बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि वर्षा, हिमपात र असिनाको सम्भावना रहेको छ ।




यस अवधिमा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाले नागरिकलाई आफ्नो क्षेत्रको मौसमसम्बन्धी सूचनाबारे अद्यावधिक रहन आग्रह गरेको छ ।

