२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

शुक्रवार , कार्तिक ७, २०८३

काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रमा बिहीबार साँझ गएको ७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण तिब्बतको उत्तरी क्षेत्रमा पर्ने नाग्कु सहरमा ३३९ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् । घटनापछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नाग्कु सञ्चार कार्यालयले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भूकम्पबाट ठूलो भौतिक क्षति भएको जनाएको छ ।

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २१ जनालाई सामान्य चोटपटक लागेको छ । भूकम्पबाट घरबारविहीन भएका नागरिकलाई अस्थायी आश्रय उपलब्ध गराउन प्रहरी तथा अग्नि नियन्त्रण विभागका उद्धार टोली परिचालन भएका छन् ।

उनीहरूले प्रभावित क्षेत्रमा अस्थायी पाल निर्माण गर्ने कार्य गरिरहेका छन् । चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार पछिल्लो भूकम्प तिब्बतको उक्त क्षेत्रमा पछिल्लो पाँच वर्षयताकै शक्तिशाली भूकम्प हो ।