काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजना भएको ग्लोबल गभर्नेन्स् फोरममा सहभागी भएर आज स्वदेश फर्किएकी छन् ।
स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिएकी हुन् । विशिष्ट अतिथिका रूपमा अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले सम्बोधन गरेकी थिइन् ।
‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ भन्ने मूल नारा रहेको उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठकहरू सञ्चालन भएका थिए । फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाकार्यमा आवश्यक पर्ने सुधार तथा बहुपक्षीयताको प्रवर्द्धनबारे विस्तृत छलफल भएको थियो ।
त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ग्लोबल साउथका मुलुकको उपस्थितिका विषयमा पनि गहन विमर्श गरिएको थियो ।