काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उहाँलाई अचेत अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरेका छन्। नाना पाटेकरका छोरा मल्हार पाटेकरले उहाँको निधन भएको पुष्टि गर्नुभएको छ। पाटेकर पछिल्लो समय विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर चलचित्र ‘ओ’रोमियो’मा देखिनुभएको थियो। सन् २०२६ को फेब्रुअरीमा प्रदर्शन भएको उक्त चलचित्रमा उहाँले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले अनिल कपुर अभिनीत ‘सुबेदार’मा पनि अभिनय गर्नुभएको थियो। उक्त चलचित्र सन् २०२६ को मार्चमा प्राइम भिडियोमा सार्वजनिक भएको थियो। यसअघि उहाँ ‘हाउसफुल–५’ र ‘वनवास’मा देखिनुभएको थियो।
हिन्दी तथा मराठी चलचित्रमा लामो समयदेखि सक्रिय पाटेकरले ‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायत चलचित्रमा प्रभावशाली अभिनय गर्नुभएको थियो। सन् १९७८ मा ‘गमन’मार्फत चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले चार दशकभन्दा लामो समय अभिनय क्षेत्रमा बिताउनुभएको थियो।
‘शक्ति : द पावर’, ‘अब तक छप्पन’, ‘अपहरण’ र ‘ट्याक्सी नम्बर ९२११’ लगायत चलचित्रमा उहाँको अभिनय चर्चित बनेको थियो। चलचित्र तथा कला क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै भारत सरकारले सन् २०१३ मा उहाँलाई पद्मश्रीबाट सम्मान गरेको थियो। नाना पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रले चार दशकभन्दा लामो समयदेखि अभिनयमार्फत दर्शकमाझ प्रभाव छाड्नुभएका एक चर्चित कलाकार गुमाएको छ।