२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिभुवन विमानस्थलको हवाई ट्राफिक प्रणाली सुधार्न जापानको २ अर्ब ७३ करोड अनुदान

बिहिवार , आश्विन २२, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रण प्रणालीलाई थप आधुनिक र सुरक्षित बनाउन नेपाल र जापानबीच अनुदान सम्झौता भएको छ । सम्झौताअनुसार जापानले परियोजनाका लागि २ अर्ब ८५ करोड ३० लाख जापानी येन अर्थात् करिब २ अर्ब ७३ करोड रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । बिहीबार अर्थ मन्त्रालयमा सम्झौता भएको हो । अनुदानबाट विमानस्थलमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावरसहित प्रशासनिक तथा सुविधा भवन निर्माण गरिनेछ । यसबाट हवाई ट्राफिक नियन्त्रण सेवा थप सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत परियोजना कार्यान्वयन हुनेछ ।

सम्झौतासम्बन्धी ‘एम्सचेन्ज अफ नोट्स’मा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गर्नुभएको छ । अनुदान सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मचुजाकीले हस्ताक्षर गर्नुभएको छ । नेपाल–जापान सहकार्यमा अघि बढाइएको यस परियोजनाले त्रिभुवन विमानस्थलको हवाई सुरक्षा र सेवा प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ ।